गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित





तनहुँको भिमाद नगरपालिका ९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ ।

भिमाद नगरपालिका(९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिनुभयो । 

“मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ ।” उहाँका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा पाँच सयभन्दा बढी खर्च हुन्थ्यो भने अब स्थानीय स्तरमै रु एक सयमै हुने भएको छ ।

गाउँका जनतालाई सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले बताउनुभयो । स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट, अनमी, अहब, एचए र एकजना कार्यालय सहयोगी राखिएको छ ।

गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् । सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद–९ का श्रीमाया आलेले बताउनुभयो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।