कास्कीबाट समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना सांसद


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित




राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा सांसदको टुंगो लगाएको छ।

केन्द्रीय समितिकोे बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकालाई छनोट गरेको हो।

दलिततर्फ २, आदिवासी जनजातितर्फ ३, खस आर्यतर्फ ४, मधेसीतर्फ २, थारुतर्फ १ र मुस्लिमतर्फ १ जना सांसद समानुपातिकतर्फ छनोट गरेको हो।

छनोट गरिएकोमा कास्कीबाट २ जनाको नाम परेको छ। आदिवासी जनजातितर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश कमिटी सभापति डा. ढाकाकुमार श्रेष्ठ र दलिततर्फ शिव नेपाली समानुपातिक सांसदका लागि टुंगो लागेका छन्। श्रेष्ठ आदिवासी जनजातितर्फ अग्रस्थानमा थिए। नेपाली दलिततर्फ दोस्रो स्थानमा थिए।

पहिलो पटक दल दर्ता गरेर निर्वाचनमा होमिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २१ सिट प्राप्त गरेको छ। करिब ४ महिनाअघि दल दर्ता गरेको सो पार्टीको यो निर्वाचनमा उल्लेखनीय उपस्थिति रह्यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।