बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित




आज (मंसीर २६ गते, सोमबार) बराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ।

आवेदकले आजै बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले पहिलो चरणमा मंसीर २१ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ। यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आवेदकले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

यस कम्पनीले बागलुङमा निर्मित १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजनाबाट कम्पनीले २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ। आर्थिक वर्ष २०७७र७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी रू ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ। सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू ६४ दशमलव ९७ छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।