लेखनाथ महोत्सव विहीबारदेखि

- आकर्षणका रुपमा बेगनास ताल र वरपरका कोटहरुको प्रतिविम्व रहने


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित




पोखरा, पुष ५

पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुष ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो । सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा राष्ट्रिय वाणिज्य बैंकको सह–प्रायोजनमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धी’ भन्ने मूल उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानिय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको संघले जनाएको छ । त्यस्तै आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधी हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजहरुको जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले बताए । साथै महोत्सवले कोभिड १९, रुस–युक्रेन युद्धलगायतका कारणले वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज बृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत पुग्ने उनको भनाई छ । त्यस्तै महोत्सवले समग्र गण्डकी प्रदेशकै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पुग्ने उनले बताए ।

महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधी, रेष्टुरेण्ट, वैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने जनाइएको छ ।

महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । त्यस्तै फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरुपनि महोत्सवमा राखिने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

महोत्सवमा सूचना प्रविधी तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधीहरुपनि प्रदर्शनी गरिनेछ । त्यस्तै फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारीपनि राखिने ओझाले बताए ।

महोत्सवको आकर्षणको रुपमा यसपटक बेगनास ताल तथा त्यस वरपरका कोट, मठ मन्दिर तथा हरियाली जंगलहरुलाई सांकेतिक रुपमा प्रतिविम्वित हुनेगरी प्रदर्शन गरिने भएको छ । त्यसका अलावामा यसअघिका महोत्सवमा झैं यस पटकपनि स्थानिय माछा, मह र कफी आकर्षणका रुपमा रहनेछन् । लेखनाथ क्षेत्रका ताल तथा पोखरीमा उत्पादन भएका माछाहरु बिक्रीका लागि राखिने जनाइएको छ । बेगनासताल, रुपातालसहित त्यस आसपासका पोखरीमा उत्पादित माछा बेच्नका लागि राखिने प्रचार संयोजक ओझाले जानकारी दिए । त्यस्तै लेखनाथ तथा आसपासका क्षेत्रमा उत्पादन भएका कफीका साथै महसमेत बिक्रीका लागि राखिने उनले बताए । महोत्सवमा बाल उद्यानसमेत आकर्षणका रुपमा रहने आयोजकको दाबी छ । साना साना बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्म भुल्ने र झुल्नेगरी बाल उद्यान तयार गरिएको ओझाले बताए ।

महोत्सवको अवसरमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्डहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ ।

महोत्सवमा प्रवेशका लागि दिउँसो ८० रुपैयाँ टिकट दर कायम गरिएको आयोजकले जनाएको छ । विद्यार्थीलाई भने छुटमा ५० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष आत्रेयले बताए । त्यस्तै साँझको कन्सर्टका लागि १५० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए । बृद्धबृद्धा, अपाङ्गता भएका र एकल महिलालाई भने निःशुल्क प्रवेशको ब्यबस्था गरिएको उनले बताए ।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । महोत्सवमा करीब १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष ओझाले बताए । महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने अनुमान गरिएको उनले बताए । बचत रकम प्रदर्शनी स्थलको स्तरोन्नती, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए ।

महोत्सवको अन्तिम तयारीबारे जानकारी गराउँदै आयोजक लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।