पोखरा । पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ । पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ पोखरामा भोलि सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको हो । पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । लाईभ कन्सर्टमा नेपथ्य करीब तीन घण्टा गुञ्जिने जनाइएको छ ।
कन्सर्टको तयारी पूरा भएको आयोजकले जनाएको छ । आफ्नो प्रस्तुतीमार्फत छुट्टै पहिचान बनाएको नेपथ्यको पोखरामा यो नवौं लाईभ कन्सर्ट हो । कन्सर्टका लागि भोकलिष्ट अमृत गुरुङसहितको ७० जनाको टोली आईतबार साँझ पोखरा आइसकेको छ । टोलीमा गुरुङसहित वाद्यवादन, प्राविधिक र व्यवस्थापन सदस्यहरु रहेको टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले स्वागत गरेका थिए ।
पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । नेपथ्यले विराटनगरमा मङ्सिर १६ गते कन्सर्ट गरेर एक महिने देशव्यापी कन्सर्ट शुरुवात गरेको थियो । नेपथ्यले मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रंगशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कन्सर्ट गरेको छ भने काठमाडौँमा पुस १६ गते समापन गर्ने जनाएको छ ।
पोखरास्थित मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ नेपथ्य लाईभ कन्सर्ट आयोजना गरिन लागेको हो । १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम गरी आर्थिक संकलन अभियान अन्तरगत कन्सर्ट गर्न लागिएको आश्रम कास्की शाखाले जनाएको छ ।
आश्रमले आगामी माघ २० गतेदेखि श्रीमत् भागवत ज्ञान विज्ञान महायज्ञसमेत आयोजना गरेर आर्थिक संलन गर्ने योजना बनाएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
पोखराको यो शाखा मानवसेवा आश्रमको नवौँ शाखा हो । विसं २०७४ साल चैत १७ मा पोखरा महानगरपालिका १७ छोरेपाटनमा आश्रमले शाखा विस्तार गरेको थियो । पोखरा महानगरपालिकालाई केन्द्रविन्दु बनाई गण्डकी प्रदेशभरी रहेको सडक मानवहरुको नियमित उद्धार तथा व्यवस्थापन हुँदै आएको छ । लक्ष्मी (आमा) र नारायण (बुबा)हरुको छुट्टाछुट्टै सेवा केन्द्रबाट सेवा प्रदान भइरहेको छ ।
हाल आश्रममा १०२ जना पुरुष र ६३ जना महिला गरी १६५ जनाले सेवा लिइरहेका छन् । भाडाको घरमा सुरुवात भएको सेवालाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका वडा नं २५ हेम्जा बाबियतरामा लक्ष्मी नारायण सनातन संस्कार प्रतिष्ठनको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त भएपछि आफ्नै भवन निर्माण कार्य शुरु गरिएको हो ।
सो क्षेत्रमा गुरुयोजना तयार गरी मानवसेवा आश्रम, मानवता अध्ययन केन्द्र, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ तिर्थयात्रीहरुका लागि धर्मशाला, शाश्वतग्रामलगायतका बृहत र मानवीय संवेदनालाई जोड दिने भौतिक संरचना निर्माण हुँदैछ ।
हालसम्म मानवसेवा आश्रम भवनको ४० प्रतिशत र लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । आश्रमको निर्माणपछि यहाँ २०० जना सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई…






