‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित





जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन ।

विसं २०५३ देखि सुन्तला खेती थालेका उनले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन। म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए ।

विसं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेका उनले आठ वर्षसम्म शिक्षक पेसामा लागेका थिए । नेपाली कांग्रेसको नेतासमेत रहनुभएका घिमिरे विसं २०४९ मा तत्कालीन गाविस अध्यक्षसमेत बनेकन थिए । राजनीति र समाज सेवामा सक्रिय रहेका उनले विसं २०५३ देखि व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन ।

सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उनले बताए ।

सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उनले बताए । फेरि सरकारले कृषिलाई विभिन्न अनुदानसमेत दिन थालेको छ । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, यसबाट सन्तुष्ट छु ”उनले भने । राजनीति र समाजसेवालाई सँगसँगै हाँकेका उपाध्यक्ष घिमिरेले उनले सुन्तला खेतीको साथै इँटाभट्टाको कारखानासमेत खोलेर सयौँलाई रोजगारी दिँदै आएका छन । “हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफैँ अग्रसर बन्नुपर्छ”, उनले भने ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।