साङ्केतिक तस्विर
पाल्पा । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ ।
बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।
त्यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल पनि गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







