ढोरपाटन । तमान गाउँको एउटा सानो घर । घर वरपर हरेक दिन स(साना बालबालिका खेल्दै गरेका भेटिन्छन् । गत असारदेखि यो घर ३१ जना बालबालिकाका लागि आफ्नो घर बनेको छ ।
आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरुको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ । तमानखोला गाउँपालिका–३ तमानगाउँमा घरभाडामा लिएर पालिकाले बालगृह सञ्चालन गरेपछि उनीहरु त्यहाँ आइपुगेका हुन् ।
भौगोलिक विकटताका बाबजुत पनि गाउँपालिकाले अघिल्लो वर्ष बालविवाह न्यूनिकरणदेखि जङ्क फुडरहित विद्यालय बनाउने अभियान सुरु गरेको थियो भने यसवर्ष भने बालगृह सञ्चालनमा ल्यायोको हो । बालगृह सञ्चालनमा आएपछि बालबालिका खुसीका साथ बस्न र पढ्न पाएका छन् ।
बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाका कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताए । ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको उनले बताए । बालगृहमा बालबालिका थपिने क्रममा रहेको उनको भनाइ छ ।
“दुर्गम ठाउँ हो धेरै व्यवस्थित गर्न नसके पनि बालबालिकाको सुरक्षासहित गुणस्तरीय पठनपाठनमा जोड दिएका छौँ, सुरुआती चरणमा हुँदा केही कमिकमजोरी हुन सक्छन्, तर बालबालिकालाई अधिकतम सुविधासहित बाल गृहमा राखेका छौँ”, अध्यक्ष बुढा मगरले भने, “सुरुमा १६ जना बालबालिकालाई राखेका थियौँ, अहिले ३१ जना पुगेका छन् अझै थपिने क्रम जारी छ ।”
गाउँपालिकाले बालगृहमा बसेका बालबालिकालाई कक्षा १२ सम्म पढाउने उनको भनाइ छ । उनीहरुलाई समय–समयमा सीपमूलक तालिम दिने र आत्मनिर्भर बनाउने योजनासमेत गाउँपालिकाले बनाएको बुढा मगरले बताए।
कक्षा १२ पासपछि पनि उनीहरुको क्षमताअनुसार रोजगारको अवसर गाउँपालिकाले नै व्यवस्था गरी दिने उनको भनाइ छ । “अहिले बालगृहमा रहेका बालबालिका निकै उत्साहित छन्, केही राहत मिलेको महसुस गरेका छन्, उनीहरुलाई माध्यमिक तहसम्म पढाउने हाम्रो जिम्मेवारी हो, त्यसपछि पनि उच्च शिक्षाका लागि हामीहरुले सहयोग गर्ने छौँ,” उनले भने, “समय–समयमा सीप सिकाउने र दक्ष बनाउने, आत्मनिर्भर बनाउने छौँ ।”
गाउँपालिकाले यस वर्ष बालगृह सञ्चालनका लागि १७ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष बुढा मगरको भनाइ छ । दुर्गम गाउँमा बालगृह सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण भए पनि आफूहरु निरन्तर लाग्दा सफल भएको उनले बताए ।
बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । तमानखोला गाउँपालिका–३ का वडाध्यक्ष झकबहादुर बुढा मगरले कर्मचारीले बालबालिकाको रेखदेख गर्ने गरी व्यवस्थापन गरेको बताए ।
उनीहरूले नजिकैको सामुदायिक विद्यालयमा अध्ययन गर्ने हुँदा धेरै समस्या नभएको भन्दै निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन पालिकाले गरिरहेको उनी बताउछन् । वडाध्यक्ष बुढा मगर भन्छन्, “बालगृहमा बस्ने कुनै पनि बालबालिकालाई शुल्क लाग्दैन, सबै निःशुल्क हो, यहाँ पालिकाभरीका बालबालिका मात्रै राख्ने गरेका छौँ, उनीहरुको लालनपालनमा सहयोगका लागि दुई जना कर्मचारीको व्यवस्थापन गरेका छौँ, बालबालिकाको स्वास्थ्य अवस्था पनि अहिले राम्रो छ, बिरामी परेका छैनन् ।”
प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरूको स्वास्थ्य परीक्षण गर्ने, अध्ययनलाई राम्रो बनाउन पालिका र बालगृह सञ्चालक समितिले हेरचाह गरिरहेको उनको भनाइ छ । “बालगृहमा आश्रित बालबालिकाको कक्षा १२ सम्म पठानपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, बेसहारा बालबालिका कोही पनि पढ्नबाट बञ्चित हुने छैनन्, यसले बालबालिकाको भविष्य सुनौलो हुने अपेक्षा लिएका छौँ” उनले भने ।
बालगृह सञ्चालन कोषमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिकको पाँच प्रतिशत रकम जम्मा गर्दै आएको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताए ।
अभियानमा सबै जनप्रतिनिधिले सहयोग गरिरहेको उनको भनाइ छ । उनले उक्त रकमबाट कोष वृद्धि हुँदै जाने र बालगृहलाई दीर्घकालीन व्यवस्थापनमा सहजता पुग्ने बताउछन् । बालबालिका बढ्दै गएपछि उनीहरूको सहज रुपमा व्यस्थापन गर्नका लागि कोष बनाइएको उनको भनाइ छ । उपाध्यक्ष छन्त्यालले बालगृह सञ्चालनका लागि स्थानीयले पनि सहयोग गरिरहेको बताए ।
“बालगृह सञ्चालन गर्ने गाउँपालिकाको अभियानलाई स्थानीयलगायत धेरैले सहयोग गर्नुभएको छ, खासगरी यो सञ्चालन गर्नुको मुख्य उद्दश्यनै दुःख पाएका बालबालिकालाई संरक्षण गर्नु हो, यसले गर्दा सञ्चालन गरेको छोटो समयमै धेरै बालबालिकाले आश्रय पाउनु भएको छ”, उपाध्यक्ष छन्त्यालले भने, “गाउँ हो केही समस्या त हुन्छ नै यद्यपि सक्दो गुणस्तरीय सेवा दिने हामीहरु जुटेका छौँ ।”रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







