नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका विषयक नागरिक समाज कास्कीको रेडियो परिचर्चा


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित




पोखरा । ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवस पोखरामा पनि मनाइएको छ । सो अवसरमा नागरिक समाज कास्कीले पनि नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका विषयक रेडियो परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ताका रुपमा प्रा.डा. ज्ञानेन्द्र बहादुर कार्कीले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको परिचर्चा गरेका छन् ।

साथै उनले तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माणमा शाहको भुमिकालाई राज्य पक्ष र नागरिक पक्ष दुवैले उच्च सम्मान गरिरहनुपर्ने बताए ।

नागरिक समाज कास्कीले एभरेष्ट एफ.एम.को सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा मदरल्याड माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले जिज्ञासा राखेका थिए भने प्रमुख वक्ता कास्कीले उनीहरुको जिज्ञासामा उत्तर दिएका थिए ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।