विमान दुर्घटना : २२ जनाको शव आफन्तलाई बुझाइयो, ४८ जनाको काठमाडौं पठाइयो


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाको शव मंगलबार आफन्तलाई बुझाइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव सनाखत भई पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । ‘हामीले पोखरामा परिवार तथा आफन्त भएका मृतकका शवहरु सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका छौं’–उनले भने ।

विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव भने काठमाडौं पठाइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत दुई पटक गरेर ४८ वटा शव काठमाडौं पठाइएको प्रजिअ केसीले जानकारी दिए । हेलिकोप्टरमा पहिलो पटक २५ र दोश्रो पटक २३ गरेर ४८ जनाको शव पठाइएको उनले बताए ।

योसँगै सोमबारसम्म प्राप्त ७० वटै शवको व्यवस्थापन भएको छ । काठमाडौं पठाइएका शवहरुमध्ये २३ जनाको सनाखत हुन सकेको छैन । बाँकीको सनाखत भएकाले पोष्टमार्टमपश्चात आफन्तलाई शव बुझाईने जनाइएको छ । ‘काठमाडौंमा आफन्त भएका, सनाखत हुन नसकेका र विदेशी नागरिकको शव काठमाडौं पठाएका हौं’–प्रजिअ केसीले भने ।

मंगलबार भेटिएको महिलाको शव सनाखत हुन नसकेमा वा उनका आफन्त पोखरामा नभएमा काठमाडौं पठाईने उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।