‘वित्तीय दायित्वले नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो’: मन्त्री जुग्जाली


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन् ।

मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी गएका उनले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जना भइसकेको दायित्व पुरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताए । “रु.तीस अर्बको हाराहारीमा पूँजीगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरु गरेका आयोजनामा सिर्जना भएको रु। १३ अर्ब ५० करोडको वित्तीय दायित्वले अप्ठ्यारो पारेको छ,” उनले भने “शुरु गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ । सिर्जना भएको वित्तीय दायित्व पुरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौ ।”

मन्त्री जुग्जालीले गण्डकी प्रदेशको सम्बृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कुल बजेटको चार प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने बताए । वन र वातावरणको संरक्षणसँगै उपयोग मार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिवद्धता जनाए।

प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्यवभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर सात बनाइएको मन्त्री जुग्जालीले बताए । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित मन्त्री जुग्जालीलाई नेकपा ९माओवादी केन्द्र०को जिल्ला कमिटी, तातोपानी कुण्ड व्यवस्थापन समिति, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य, मंगला र मालिका गाउँपालिकाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

लमसुङ यातायात सञ्जालले जोडियो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस शनिबार गाउँपालिकाको केन्द्र मुना हुँदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयवासीमा खुसियाली छाएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिए।

धवलागिरिको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भीरमा खनिएको सडक स्तरोन्नति भएपछि बस चल्ने भएको हो । बस र जिप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भीरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो ।

दुई वर्ष लगाएर गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेको थिएन । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङदेखि लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ ।

लुलाङ गुर्जा सडक निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु ४५ लाख र गण्डकी प्रदेश सरकारले रु ८० लाख विनियोजन गरेका छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने दुर्गम मलम्पार गाउँमा पनि सडक पुगेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको रु २५ लाख बजेटबाट मल्कवाङ हुँदै मलम्परासम्म सडक जोडिएको र त्यसलाई विस्तार गरेर वडा नम्बर ६ को बुलसँग जोड्न काम भइरहेको जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।