सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित




काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गरेका हुन् । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरु संवादमा नै रहेको बताए ।

लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट लामिछाने हटेका थिए । आइतबार पुनः लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । नागरिकता लिएपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले आग्रह गर्दै आएका छन् ।

यस्तै, नेकपा९माओवादी केन्द्र०को आज बसेको पदाधिकारी बैठकमा साङ्गठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको उल्लेख गर्दै प्रवक्ता महराले पार्टीको स्थायी समितिको बैठक बुधबार पुनः बस्ने उनले बताए ।

प्रवक्ता महराले अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको जानकारी दिए । राष्ट्रपतिको निर्वाचनका बारेमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले भने,“राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन होओस् भन्नेमा पार्टीभित्र अधिकांशको समान धारणा छ ।” उनले राष्ट्रपतिको निर्वाचन हुन अझै समय बाँकी भएकाले सहमति जुट्ने विश्वास व्यक्त गरे।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।