उच्च अदालत पोखराद्धारा दुबै पक्षलाई झिकाउने आदेश


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित




पोखरा। उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामादुबै पक्षलाई झिकाउने आदेश दिएको छ । अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउन आदेश दिएको हो ।

नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।