कोभिड विरुद्धको बुस्टर डोज फागुनमा आउने


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले फागुन ८ गतेभित्रमा मात्र खोप नेपाल आउने बताए ।

उनले कार्यतालिकाअनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले पठाउने भने पनि प्राविधिक कारणले नेपाललाई अझै खोप आउनेबारे जानकारी नदिएकाले ढिलाइ भएको बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ सँग ३० लाखा मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए ।

गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा बि.एफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।