माघ २६ पोखरा । पोखरामा फागुन ६ मा आयोजना गरिने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्यारथन भव्यताका साथ सम्पन्न गर्नका लागि यहाँका शैक्षिक संस्थाहरुले सघाउने ऐक्यवद्धता जनाएका छन् ।
पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च र यहाँका शैक्षिक संस्थाहरुको छाता संस्थाहरुविच भएको अन्तरक्रियात्मक कार्यक्रममा उनीहरुले यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
कार्यक्रममा उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीका अध्यक्ष यम रोक्काले पोखरा म्यराथनले अन्तराष्ट्रिय स्तरमा पोखरालाई प्रचार–प्रसार गर्नुका साथै यहाँको खेलकुदको गतिशिलतालाई पनि बढवा दिने बताए । उनले उनले म्याराथन सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले म्याराथन पोखराको मात्र नभई समग्र राष्ट्रकै गौरव गर्ने प्रतियोगिता भएको बताए ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष हेमन्त अधिकारीले खेल र शिक्षा एकै सिक्काका दुई पाटो रहेको बताउँदै म्याराथनलाई सफल बनाउन संस्थागतरुपमा नै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै विन्द्यावासिनी मावि बाटुलेचौरका प्रध्यानाध्यापक कृष्ण प्रसाद आचार्यले अन्तराष्ट्रिय स्तरको म्याराथनप्रति उत्साहित रहेको बताउँदै विद्यार्थी सहित कार्यक्रममा आफूहरुको उपस्थिती रहने जनाए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले म्याराथनले पोखरालाई अन्तराष्ट्रिय स्तरमा चिनाउने हुँदा धावकहरु आफ्नो संस्था नजिक आउँदै गर्दा उनीहरुलाई जातीगत भेषभुष, साँस्कृतिक झाकीसहित स्वागत गर्नेखालको वातावरण तयार गर्न आग्रह गरे ।
कार्यक्रममा म्याराथनबारे प्रस्तुती राख्दै आयोजक संस्थाका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले म्याराथनको रुट १७ वटा वडामा समेटिएको जानकारी दिए । उनले भने, “यो रुट पर्यटकिय, धार्मिक, सांस्कृतिक रुपले समेत महत्वपूर्ण छ”, “यो ४२ किलोमिटर दौड रुटमा फरक–फरक जाती बसोबासको समिश्रण पनि रहेकोले उनीहरुले धावकहरुलाई समेत आ–आफ्नै पारम्पारिक भेष–भूषा, बाजागाजा र सांस्कृतिक रुपमा स्वागत पनि गर्नेछन । जुन कुरा विश्वका अरु ठाउँमा देख्न पाँइदैन ।”
मञ्चका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष महेश पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







