पोखरा, फागुन ५
उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको गति बढाउन निर्देशन दिएका छन् । शुक्रबार पोखरा आएका मन्त्री श्रेष्ठले समृद्धिको गति धिमा भएको भन्दै यसको गति बढाउन सडक कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । राज्य र समाजले विकास र समृद्धि खोजेको भन्दै उनले भने,‘ तर समृद्धिको गति धिमा छ । यहि तरिकाले जनताको समृद्धिको आकांक्षा पूरा हुँदैन । त्यसले फड्को मार्नेगरी काम गर्नुस् ।’ उनले समृद्धिको आकांक्षा पूरा गर्नका लागि गुणात्मक हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।
उप–प्रधानमन्त्री श्रेष्ठले समृद्धिको आशा र अपेक्षा पूरा गर्ने महत्वपूर्ण मन्त्रालय भनेको भौतिक पूर्वाधार मन्त्रालय भएपनि कर्मचारीको ढिलासुस्तीका कारण पूरा हुन नसकेको बताए । ‘एक तिहाई बजेट हाम्रो मन्त्रालयमा छ । त्यसैले समृद्धिको आकांक्षा पूरा गर्ने जिम्मेवारी हाम्रो हातमा छ । त्यसका लागि काम गर्ने तौरतरिका र गति बढाउन आवश्यक छ’–उनले भने ।
उप–प्रधानमन्त्री श्रेष्ठले कर्मचारीको छवी जनतामा राम्रो नभएको बताए । कर्मचारी भनेका जनतालाई दुःख दिने, कमिसन खाने, ढिलासुस्ती गर्ने छाप सर्वसाधारणमा छ,उनले भने,‘यो दाग हटाउनूस्, यसका लागि हाम्रो कर्मचारीको जुन पोस्चर छ नि त्यो बदल्नूस् र गर्व गर्ने बनाउनूस् ।’ यसका लागि सरकारले काम गर्ने वातावरण बनाईदिने उनले आश्वासन दिए । सबै कर्मचारीलाई न्याय दिने बताउँदै उनले तर सबैले काम र परिणाम भने दिनुपर्नेमा जोड दिए । ‘सबैको पर्फमेन्स हेरिन्छ । आयोजनाको कामको प्रक्रिया अगाडि बढ्यो कि बढेन ? त्यहाँ ढिलासुस्ती भयो कि भएन ? काममा उपेक्षा भयो कि भएन भनेर’–उनले भने ।
उप–प्रधानमन्त्री श्रेष्ठले काममा ढिलासुस्ती भयो भनेचाहिं सहेर नबस्ने चेतावनी दिए । कहिलेकाहीं त लाग्छ जनताले किन कर तिर्ने होला ? उनले प्रश्नोत्तर शैलीमा भने,‘सडकमा हे¥यो ताल त्यस्तै छ । सडक त टलक्क टल्किने, सुरुरु चल्ने हुनुपर्ने हो नि । तब पो जनतालेपनि कर तिर्छन् । राज्य र कर्मचारीप्रति गर्व गर्छन् ।’
उप–प्रधानमन्त्री श्रेष्ठले भनसुनको अन्त्य गर्ने दोहो¥याए । ‘पोलिटिकल प्रेसर वा प्रभाव वा अबाञ्छित कृयालापका कारणले कसैको पोष्टिङ, सरुवा, बढुवा हुँदैन,उनले भने,‘सबैलाई न्यायपूर्ण ढंगले जिम्मेवारी दिईन्छ । कसैले केहि लिएर चाहर्नुपर्ने, कसैको भनसुन गराउनुपर्ने स्थिति अन्त्य हुन्छ । बरु भन्सुन गराउन थाल्नुभयो भने बिग्रियो भन्ने बुझे हुन्छ ।’ उनले झोला बोकेर भनसुनका लागि हाकिमकोमा गएको थाहा पाएमा त्यस्ता कर्मचारी र हाकिम दुबैलाई कारवाही गर्ने चेतावनीसमेत दिए ।
उप–प्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीलाई राज्य र समाजले ईज्जत र प्रतिष्ठा दिने वातावरण निर्माण गर्नुपर्ने बताए । राम्रो काम गर्दा ईज्जत र प्रतिष्ठा दिने तर नराम्रो गरेमा भने राज्य टुलुटुलु हेरेर नबस्ने उनको भनाई थियो । निर्माण उद्योग विकासको अभिन्न अंग हो भने त्यसलाई स्थापित गर्नुपर्छ । त्यसलाई प्रतिष्ठतपनि बनाउनुपर्छ,उनले भने,‘त्यसैले निर्माण व्यवसायीलाई गाली गरेर काम शुरु गराउने होईन । निर्माण व्यवसायीलाई पनि राज्य र समाजले ईज्जत र प्रतिष्ठा दिने हिसाबले जानुपर्छ । तर निर्माण व्यवसायीलेपनि निर्माणको काममा हेलचेक्राईं गर्ने, उपेक्षा गर्ने । काम नगर्ने, समयमा काम सम्पन्न नगर्ने । गुणस्तरीय काम नगर्ने हो भने छुट दिएर राज्य टुलुटुलु हेरेर बस्दैन ।’ उनले काम नगर्ने, गुणस्तरीय काम नगर्ने, हेलचेक्राईं गर्ने निर्माण कम्पनीको गतिविधि टुलुटुलु हेरेर कर्मचारी बसेको खण्डमा त्यस्ता कर्मचारीलाई पनि कारवाही गर्ने चेतावनी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







