पोखरा, फागुन १७
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भने, ‘विगत र वर्तमान सरकारले गरेका कयौं कार्यहरु सकारात्मक भएपनि जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ ।’ उनले संविधानमा व्यवस्था गरिएका मौलिक हक, अधिकार व्यवहारमा अवलम्वन गर्न गराउन बाँकी रहेको औंल्याए । त्यस्तै सेवा प्रवाह सरल र सहज बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । उनले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले जनतामा सुशासनको अनुभूति दिलाउने र प्रदेश मातहतका कार्यालयबाट प्रवाह हुने सेवामा जनताको पहुँच बृद्धि गरि सेवालाई झञ्झटमुक्त बनाउनुपर्ने उल्लेख गरे । उनले भने,‘सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई सम्मानजनक व्यवहारका साथ निस्पक्ष, प्रविधिमैत्री र भ्रष्टाचारबिरुद्धको शून्य सहनशिलताको मान्यता अनुरुप प्रदेश प्रशासनमा सदाचारिता अभिबृद्धि गर्नुपर्नेछ ।’
प्रदेश प्रमुख गुरुङले निर्माण शुरु भएको कयौं योजनाहरु पूरा हुन नसक्दा सरकारप्रति विस्वास कम हुन जाने अवस्था रहेको भन्दै त्यसप्रति सरकार सचेत रहनुपर्ने बताए । उनले प्रदेशबासीले शुलभ स्वास्थ्य सेवा पाएको अनुभूति दिलाउनपनि थप कार्य गर्नुपर्ने उल्लेख गरे । साथै प्रदेशका युवा रोजगारीका लागि देशबाहिर जानुपर्ने अवस्था रहेकाले त्यसको अन्त्यका लागि देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने अवस्थापनि उनले औंल्याए । त्यस्तै, स्थानिय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने काम पूरा गर्नुपर्ने, ट्रयाक खोलिएका सडकको स्तरोन्नती गर्नुपर्ने तथा बिग्रिएका सडकहरु समयमै मर्मत र अद्यावधिक राख्न सरकार प्रयत्नशील हुनुपर्नेमा उनले जोड दिए । उनले हवाई सम्पर्क बिस्तार गरेर पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई व्यस्त बनाई प्रदेशले अधिकतम लाभ लिने वातावरण बनाउनुपर्ने बताए । यसैगरी गण्डकी प्रदेश र यसको राजधानी पोखरालाई पर्यटनको राजधानी बनाउन थप प्रयास गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए ।
प्रमुख गुरुङले विकास र समृद्धि कुनै राजनीतिक वा समूह विशेषको नीजि विषय नभएको बताए । विकासको फल कुनै खास राजनीतिक आस्थाका जनताले मात्रै प्राप्त गर्ने विषय नभएको बताउँदै उनले थपे,‘सुशासन, विकास र समृद्धि सम्पूर्ण जनताको साझा विषय हो । त्यसैले विगतका सरकारले अगाडि बढाएका आयोजनाहरु अविछिन्न उत्तराधिकारीका रुपमा आएका सरकारले निरन्तरता दिनुपर्नेछ ।’
प्रदेश प्रमुख गुरुङले संघीयता नया अभ्यास भएपनि अहिले यसले जग तयार गरिसकेको बताए । पछिल्लो अवधीमा प्रदेश सरकार सञ्चालन गर्न र सेवा प्रदान गर्न भौतिक, प्रशासनिक र कानूनी पूर्वाधार निर्माण भएको उल्लेख गर्दै उनले भने,‘प्रदेश संरचना अहिले सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको छ ।’ उनले वर्तमान प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउँदा जनतामा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरे ।
प्रदेश प्रमुख गुरुङले दिर्घ रोग लागेकाहरुको आर्थिक अभावमा उपचार नपाई मृत्यू हुने स्थितिको अन्त्य हुने विश्वास व्यक्त गरे । साथै उनले कृषि क्षेत्रलाई यान्त्रीकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गरि उच्च उत्पादन र उत्पादकत्व बृद्धि गरि कृषिमा आत्मनिर्भर उन्मुख बनाईनेपनि बताए । त्यसका लागि बाह्रै महिना सिंचाईको व्यवस्था गर्ने, कृषि भूमिको खण्डिकरण रोक्ने, मलबिऊ समयमै उपलब्ध गराउने, उत्पादनमा आधारित अनुदान दिनेलगायतका कार्य हुने उनको भनाई थियो । उनले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानलाई पूर्णता दिनेमापनि विश्वास व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







