पोखरामा लोकप्रिय बन्दै ‘फुर्केटारी पानी’

- घरदेखि सरकारी कार्यालयसम्म फुर्केटारीको दबदबा


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०८० मा प्रकाशित




पोखरा, साउन ४

अधिकांश पोखरेलीले जारको पानी पिउँछन् । नेपाल खानेपानी संस्थानले घरघरमा धारा पु¥याएपनि अधिकांश पोखरेलीले पिउनका लागि जार र बोतलको पानी प्रयोग गर्छन् । यसरी घरघरमा पुग्ने जार र बोतलको पानी बोरिङ र मुलको गरेर दुई किसिमको हुन्छ । बोरिङको पानी कम स्वादिलो हुन्छ भने मुलको पानी स्वादिलो हुन्छ ।

बजारमा पाईने थरीथरीका पानीमध्ये फुर्केटारी पानी लोकप्रिय बन्दै गएको छ । जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निकालेर प्रशोधन गरिएको सो पानीको स्वाद पोखरेलीले मन पराएपछि यो पोखरामा लोकप्रिय बन्दै गएको हो । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन समूहले सञ्चालन गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिले करीब ३ वर्षअघि व्यवसायीक रुपमा फुर्केटारी एक्यूफेयर पानी बजारमा ल्याएको थियो । २०६२ सालदेखि नै स्थानियको घरघरमा ल्याएर प्रयोग गरिदै आएको मुलको स्वादिष्ट पानी बगेर खेर जान थालेपछि समूहको पहलमा व्यवसायीक रुपमा उद्योग सञ्चालनमा ल्याइएको फुर्केटारी एक्यूफेयर पानीका सञ्चालक मित्रलाल त्रिपाठीले जानकारी दिए ।

फुर्केटारी पानी बजारमा आएको समय अन्य कम्पनीका पानीको दबदबा थियो । जुन पानी पोखरा भन्दा बाहिरको थियो । तर समय अन्तरालमा फुर्केटारीले त्यो दबदबाको तोड्दै बजारमा आफूलाई स्थापित गर्न सफल भएको छ । यसरी बजारमा अन्य पानीको दबदबा तोड्न सफल हुनुको कारण भनेको फुर्केटारी पानीको स्वाद र गुणस्तर भएको सञ्चालक त्रिपाठीको दाबी छ । उनका अनुसार फुर्केटारी पानीलाई प्रशोधन गर्नपनि जरुरी छैन । खाद्य तथा गुणस्तर विभाग र विज्ञहरुले हामीलाई प्रशोधन नगरी नै बजारमा ल्याउन सुझाव दिएका छन्,उनले भने,‘फुर्केटारी पानीमा कुनै जिवाणु छैन भन्ने ल्याव टेष्टबाट पुष्टि भईसकेको छ । त्यसैले यो पानीलाई प्रशोधन जरुरी छैन ।’ प्रशोधन जरुरी नभएपनि हालसम्म आफूहरुले प्रशोधन गरेरै बजारमा पठाउने गरेको सञ्चालक त्रिपाठी बताउँछन् । ‘कोलिफर्र्मलगायतका किटाणु देखिए पो प्रशोधन गर्ने हो । किटाणु नै नभएपछि प्राकृतिक रुपमै पानी बिक्री गर्न उहाँहरुको सुझाव छ’–उनले भने । फुर्केटारी पानीलाई नेसनल ड्रिङ्किङ वाटर क्वालिटीको प्रमाण दिएको उनले बताए ।

सञ्चालक त्रिपाठी फुर्केटारी पानीको स्वाद नै मीठो भएको दाबी गर्छन् । यो पानी पिउने बानी परेकाले अर्को पानी पिउनै मान्दैनन्,उनले भने,‘यो पानी मुखमा परेपछि खाईरहन मन लाग्ने खालको छ । त्यसैले त यो बजारमा अहिले लोकप्रिय छ ।’ उनका अनुसार फुर्केटारी पानी सरकारी कार्यालयमा अहिले सर्वाधिक मन पराइएको छ । कार्यक्रमदेखि कार्यालयमा पिउनका लागि यहि पानी प्रयोग हुने गरेको उनको दाबी छ ।

फुर्केटारी पानी जारबाहेक एक लिटर र आधा लिटरको बोतलमा हालेर बजारमा पठाइने गरेको सञ्चालक त्रिपाठीले जानकारी दिए । जारको पानीलाई सर्वसाधारणका लागि ६० रुपैयाँ अधिकतम मूल्य तोकिएको उनले बताए । एक लिटरको पानीलाई २० र आधा लिटरको पानीलाई १५ रुपैयाँ अधिकतम मूल्य तोकिएको उनले बताए । ‘बोरिङको पानी सस्तो हुन्छ । मुलको पानी त्योपनि प्रशोधन गरेर ल्याउँदा केहि महङ्गो हुनसक्छ । तर स्वाद र गुणस्तरका लागि यो पानी उपयुक्त छ’–उनले भने ।

सञ्चालक त्रिपाठी फुर्केटारी पानी विदेश निर्यात गर्ने योजना रहेको बताउँछन् । यसका लागि प्रयास भइरहेको उनको भनाई छ । तर विदेशमा निर्यात गर्नलाई गुणस्तर बृद्धिसँगै केहि प्राविधिक तयारी गर्नुपर्ने भएकाले त्यसको तयारीमा आफूहरु जुटेको उनले बताए ।

फुर्केटारी पानी व्यवसायीक रुपमा बजारमा आएसँगै स्थानियले बहुआयामिक रुपमा लाभ प्राप्त गरेका छन् । सामुदायिक वनको सुरक्षामा थप बल पुगेको छ भने स्थानियले निःशुल्क उपभोग गर्दै आएका छन् । त्यसका अलावा विकास र समृद्धिमासमेत टेवा पुगेको सञ्चालक त्रिपाठी बताउँछन् । त्यस्तै केहि स्थानियले रोजगारीसमेत पाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।