सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप, हालसम्म ९ जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०८० मा प्रकाशित




काठमाण्डौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।

आज आरोपीहरूलाई अदालतमा पेस गरिएकोमा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए ।

अहिलेसम्म विभागले एक चिनियाँसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । यस्तै प्रहरीले बिहीबार नै यस्तै ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र अर्का राजन श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।