नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित




काठमाण्डौं । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ ।

एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान सात चौका र सात छक्काको मद्दतमा ९० रनको योगदान दिएका हुन् । यसैगरी अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५६ रन बनाए भने सानदुन विराकोडीले ३१ रन बनाए ।

नेपालका लागि सूर्य तामाङ र प्रतिश जिसीले समान दुई/दुई विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि अर्जुन साउदले सर्वाधिक ७९ रनको योगदान दिए । उनले एक सय १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७९ रनको योगदान दिएका हुन् । त्यस्तै सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११÷११ रन जोडे भने पवन सर्राफले १० रन बनाए ।

ब्लूमफिल्डका लागि मलिन्डा परेरा, दिनेश समराविक्रम, निमेश थारुणु र विनिनायाकेले समान दुई÷दुई विकेट लिए । अब नेपालले शुक्रबार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।