पोखरा, साउन १३
पोखरामा यस वर्ष भदौ १६ गते शनिबार तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–११ रानैपौवामा हुने भएको हो । नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नेवाः कचा खल रानीपौवाको आयोजना तथा नेवा ल्याम्ह पुचः रानीपौवा र नेवा मिसा पुचः रानीपौवासँगको सहकार्यमा हुने जनाइएको छ ।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा तायाःमचा नृत्यसमेत समावेश गर्ने प्रचलन छ । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।
प्रतियोगिताको तयारी शुरु भएको नेवा खलः कास्कीले जनाएको छ । प्रतियोगिताको तयारी स्वरुप शनिबार एक कार्यक्रमकाबीच सचिवालयको उद्घाटन गरिएको छ । सो अवसरमा प्रतियोगितामा सहभागि टिमहरुलाई बाजा सेट प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाःमचा निस्कियोस् भनेर आफूहरुले प्रतियोगिता गर्नेगरेको बताए । ‘यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो’–उनले भने ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले तायाःमचा नेवार समुदायको मौलिक संस्कृति भएको बताए । यसको संरक्षणका लागि प्रतियोगिता आयोजना भएपनि मौलिक पक्षमा अझै ध्यान नपुगेको उनको भनाई छ । तायाःमचा नृत्य पहिलेजस्तो रहेन,उनले भने,‘नाचमा चाहिने कुराहरुमा कमी आएको छ । नाचमा टाउको कसरी हल्लाउने? कसरी राग बजाउने भन्नेलगायतका मौलिक शैलीमा ध्यान पुगेको छैन ।’
प्रतियोगितामा यस वर्ष करीब २५ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक ईश्वर कर्माचार्यले जानकारी दिए ।
प्रतियोगिताको बिजेतालाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिने नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







