पोखरा, साउन २३
आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीन दिन बन्द गरिने भएको छ । आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले पोखरा महानगर भित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो ।
पोखरामा आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा सोमबार सरोकारवालाको बैठक बसेको थियो । सो बैठकले आँखा पाक्ने रोगको संक्रमणको चक्रलाई रोक्नका लागि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ । विज्ञप्तीमा आगामी तीन दिन सामुदायिक विद्यालय, संस्थागत विद्यालय र मन्टेश्वरी सबै बन्द गर्न आह्वान गरिएको छ ।
अहिले दिइएको बिदा वर्षे तथा हिउँदे बिदाबाट कट्टी गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
महानगरको निर्णयसँगै विद्यालयहरुले बुधबारदेखि विद्यालय बन्द हुने सूचना विद्यार्थी तथा अभिभावकहरुलाई गराएका छन् । आँखा पाक्ने रोगको संक्रमण रोक्न महानगरले गरेको निर्णय अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयहरुले जारी गरेको सूचनामा उल्लेख छ ।
पोखरामा सामुदायिक विद्यालय १ सय ७५, संस्थागत विद्यालय १ सय ५३ र ६५ वटा मन्टेस्सरी रहेको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।
यसअघि हिमालय आँखा अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर पोखरामा पछिल्लो हप्ता आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेको भन्दै विद्यालय बन्द गर्न सुझाव दिएको थियो । अस्पतालका अनुसार पछिल्लो एक हप्तामा आँखा पाक्ने रोगको उपचारका लागि अस्पतालमा १ हजार ५ सय ७३ जना आएका छन् । यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ईलीया श्रेष्ठले बताईन् । उनका अनुसार आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, चिलाउने, पाक्ने, पानी बग्ने, पोल्नेलगायतका लक्षण देखिन्छन् । आँखामा समस्या आउने वित्तिकै अस्पताल गएर उपचार गर्न उनले सुझाव दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







