पोखराबाट २४ तोला सुनसहित महिला पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०८० मा प्रकाशित




पोखरा, साउन २५

पोखरामा एक महिला २४ तोलासहित पक्राउ परेकी छन् । झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करीब २४ तोला सुनसहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरा आएको ग.१ ख.९९४४ नम्बरको बसमा सवार उनलाई पोखरा बसपार्कमा विहान ७ः२५ बजे बसबाट झर्ने क्रममा पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । बसबाट झरेकी गुरुङको शरिर खानतलासी गर्दा बिस्कुट आकारको सुनजस्तो देखिने पहेंलो धातु छातीमा टेप बाँधेर ब्रा भित्र लुकाएर राखेको अवस्थामा फेला परेको उनले बताए । ‘हामीलाई सुन बोकेर एक जना महिला बसमा चढेर पोखरा आउँदै गरेको भन्ने गोप्य सूचना थियो । त्यस आधारमा खानतलासी गर्दा सुनजस्तो देखिने बिस्कुट आकारको पहेंलो धातुसहित पक्राउ गर्न सफल भएका हौं’–उनले भने ।

पक्राउलगत्तै प्रहरीले मुचुल्का उठाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान जारी राखेको डिएसपी जोशीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।