नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा भर्चुअल शुभकामना


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८० मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन ।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए । बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।