कोशी प्रदेश : विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८० मा प्रकाशित




भदौ १९ काठमाण्डौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।