कांग्रेस नेतामाथि भएको आक्रमणप्रति मुख्यमन्त्री पाण्डेद्वारा भर्तसना


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित




भदौ २० पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्तसना गरेका छन् ।

विज्ञप्तिमार्फत उनले नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति, समूह जो कोही भए पनि कडा कानुनी कारबाहीका लागि माग गरे । “यस्ता घटनाले आम नागरिकमा त्रास पैदा गराएको छ, समाजमा दण्डहीनता र अराजकता बढ्ने खतरा रहन्छ, आम मानिसमा कानुनी राज्यको प्रत्याभूति दिलाउन, आपराधिक प्रवृत्तिको विरुद्ध एकताबद्ध हुन सबै पक्षसँग अनुरोध गर्दछु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री पाण्डेले टाउकोमा गम्भीर चोट लागि उपचाररत नेता यादवको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्नुभएको छ । काठमाण्डौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो ।

नेता यादवमाथि आक्रमण गरेको आरोपमा नुवाकोट घर भई काठमाडौँ बालाजु बस्ने श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाएको जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।