साङ्केतिक तस्विर
भदौ २८ बागमती । हेटौँडाका दुई चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा तथा डा प्रशान्त बिराडीमाथि हिजो अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो । उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि आज प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।
घटना विवरणअनुसार एक महिना अगाडि डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै ती दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो । सञ्चो अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा सिफारिस गरिएको थियो ।
त्यहाँ मेडिकल कलेजमा डेङ्गु सङ्क्रमित प्रधानको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक प्रधानका आफन्तको एक आक्रोशितसमूहले चिकित्सकमाथि हातपात गरेको थियो । कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ । साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले पनि आन्दोलित चिकित्सकसँगको छलफलमा कुटपिटमा संलग्नलाई कारबाही गर्ने आदेश दिएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







