नेपालमा आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८० मा प्रकाशित




नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुहुने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्रा. डा. श्रीराम शर्माले जानकारी दिए । उनका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशबाट विज्ञको सहभागिता रहने छ । यही असोज १९ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।

मुख्य गरी उक्त सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् प्रा. डा. शर्माले जानकारी दिए । उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन् । नेपाल चट्याङको उच्च जोखिम मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्रा. डा. शर्माले बताए । औषतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।