दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकको निर्णय सुनाउनुहुँदै सभापति अब्दुल खांनले चाडबाड लक्षित सहूलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।
“चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ । यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ”, उनले भने, “त्यस्तै, कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या समाधान गर्न अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइन्छ ।”
बैठकमा नेपालमा उत्पादित सुपारीको निकासीमा देखिएका समस्याबारे सुपारी उत्पादक किसान र व्यवसायी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको छ । सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







