गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस् : राष्ट्रपति पौडेल


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित




असोज २६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उनले पत्रकारिता जगत लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले भने, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन आग्रह गर्दछु ।”

उनले पत्रकारिता जगतले यस्तो अवस्थामा सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।