प्रहरीद्वारा ९२ बोरा चिनी बरामद


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित




Sack with pure sugar on table

इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु. पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु. ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो ।

सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।