ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास अगाडी बढाइएको छ : मन्त्री बस्नेत


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित




कार्तिक ३ काठमाण्डौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् ।

एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए ।

हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

नेपालको भौगोलिक विविधताका कारण अफ ग्रिड प्रणालीको आवश्यक भएको उल्लेख गर्दै उनले साना र मझौला प्रकृतिका प्रसारण प्रणालीमार्फत नवीकरणीय ऊर्जाको वितरण भइरहेको बताए । ऊर्जा सुरक्षालाई नेपालले प्राथमिकतामा राखेको तथा खपत गरेर बचत भएकोे बिजुलीको व्यापारका लागि सीमापार व्यापारका प्रयासबारे जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।