राष्ट्रसङ्घका महासचिव गुटरेसको भ्रमणको तयारी पूरा


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०८० मा प्रकाशित




कार्तिक ११ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । उनले काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।