आतङ्कवादीको आक्रमणमा मारिएका थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान, २ जनाको पहिचान हुन बाँकी


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०८० मा प्रकाशित




फाइल तस्विर

कार्तिक १२ काठमाण्डौं । दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।

तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेर अघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।