पोखरा, कात्तिक १३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो दुई वर्षमा गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामा पुगेको बताएका हुन् । बनाउन धेरै समय लाग्छ तर बिगार्न धेरै समय लाग्दैन,उनले भने,‘केवल दुई वर्षमा गठबन्धन सरकारले देश बिगारे । ध्वस्त पारे । आज राजनीतिक अस्थिरता छ देशमा । अनुशासनहिनता छ, अराजकता छ । आर्थिक रुपमा देश टाट पल्टिने अवस्थातिर जाँदैछ ।’ उनले देश अहिले रेमिटान्सको भरमा चलिरहेको बताए । देश अहिले हाम्रा दाजुभाई, दिदीबहिनी तथा छोराछोरीहरुले पठाएको रेमिटान्सका आधारमा मात्रै चलिरहेको छ, उनले आगाडि भने,‘अरु कुनैपनिबाट देश चलेको छैन । भन्सारमा कर उठ्दैन । एयरपोर्टमा कर उठ्दैन ।’
अध्यक्ष ओलीले एयरपोर्ट र भन्सारबाट अहिले तस्करीमात्रै हुनेगरेको आरोप लगाए । देशमा अहिले डकैती भइरहेको छ,उनले भने,‘एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको छ । क्वीन्टल सुन आउँछ त्यो साठी केजीमा झर्छ । साढे ९ केजी सुन पक्राउ पर्दा लेनदेन भएर अरु कहाँ पुग्छ र २ केजी मात्रै रहन्छ ।’ पक्राउ परेको सुन भन्सार र एयरपोर्टबाटै हराउने गरेको भन्दै उनले भने,‘त्यो सुन चोरी भो, वितरण भो, के भो, त्यो त्यहिंबाट हरायो, त्यहिं हरायो वा त्यहिंबाट बाँडे, खाए । कहाँ पु¥याउनुपर्ने हो पु¥याए । यो कुरा ढाकछोप गरेका छन् । तर सरकारलाई कुनै अप्ठेरो लाग्दैन ।’
एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारले बहादुरी गरेर नेपाललाई एसियाको सबैभन्दा गरीब देश बनाउन सफल भएको टिप्पणी गरे । आफ्नो पालामा उत्पादन, रेमिटान्स, रोजगारीलगायत बढेका कारण राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा वाहवाही पाएपनि अहिलेको सरकारले सबभन्दा गरीब बनाएर बद्नाम गरेको उनको भनाई थियो ।
अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री प्रचण्डलाई गएर दुर्गा प्रसाईलाई कारवाही गरिदिन प¥यो भनेर गुहार नमागेको प्रष्टीकरण दिए । दुर्गा प्रसाईंले भारतीय मिडियाले तीन वर्षअघि कम्बोडियाको टेलिकममा आफ्नो तीन हजार करोड रुपैयाँ लगानी छ भनेर दुस्प्रचार गरेको तर पछि माफी मागेर सच्याईसकेको विषयलाई अहिले पुनः दुस्प्रचार गरिरहेको भएपनि मैले कसैलाई कारवाहीका लागि गुहार मागेको छैन,उनले भने,‘काटिएर जाओस् यो शीर बरु त्यस्ताहरुसँग झुक्न जाँदैन । मर्ला बरु बाघले घाँस खाँदैन ।’ आफूले चुच्चे नक्सा जारी गरेका कारण भारतले आफूबिरुद्ध यस्तो कुप्रचार गरेको कुरामा सत्यता नरहेकाले डराउनुपर्ने कारण नभएको उनको भनाई थियो । उनले त्यो लगानी पुष्टि गर्नेलाई थप एक हजार थपेर दिनेपनि बताए ।
एमाले अध्यक्ष ओलीले आफूले अझै २० वर्ष राजनीति गर्ने घोषणा गरे । ओलीको राजनीतिक भविष्यका बारेमा अनेक टिकाटिप्पणी भइरहेका बेला उनले भने,पदमा बस्छु बन्दिन बेग्लै कुरा हो तर म अझै २० वर्ष राजनीति गर्छु । यसो भन्दा अचम्म मान्छन् मान्छेहरु । मेरो बुवा अझै तगडा हुनुहुन्छ, यति भनेपछि पुग्छ ।’
एमाले उपाध्यक्ष रामबहादुर थापाले प्रचण्ड, माधव नेपालहरु दक्षिणपन्थी अवसरवादी भएको संगीन आरोप लगाए । अहिले देशमा राष्ट्रवादी र राष्ट्रघातीबीच द्वन्द्व चलेका कारण उथलपुथल भइरहेकोसमेत बताए ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रुपमा रहेको बताउँदै त्यसलाई मिलेर परास्त गर्नुपर्नेमा जोड दिए । त्यसभित्र संकिर्णतावाद, व्यक्तिवादलगायत रहेको भन्दै यसलाई परास्त नगरेसम्म मजबुत एमाले बन्न नसक्ने उनको भनाई थियो । त्यसबिरुद्ध लड्न उनले प्रदेश कमिटीलाईपनि निर्देशन दिए ।
एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले पार्टी भित्र एकले अर्कोको खुट्टा तान्ने यदुवंशी विनासको बाटोमा रहेको बताए । यसलाई तत्काल सच्याएर एकताबद्ध एमाले निर्माण गर्नु अहिलेको आवश्यक्ता भएको उनको भनाई थियो ।
पूर्व संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य खगराज अधिकारीले पुराना पार्टी र त्यसमापनि एमाले बिस्थापित हुन्छ भन्ने डर, त्रास वा भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे । उनले व्यक्तिगत स्वार्थका कारण राष्ट्रिय स्वार्थ ओझेलमा परेको भन्दै उनले भने,‘लुरे भावनाले एमाले बन्न सक्दैन । त्यसैले ईंटको जवाफ पत्थरले दिने एमाले बनाउन सबै नेता कार्यकर्तालाई दृढतापूर्वक उभिन आग्रह गर्दछु ।’
कार्यक्रममा नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







