पोखरा, कात्तिक १४
नेपालीको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरामा कात्तिक तेश्रो सातादेखि फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजनामा पोखरामा यहि कात्तिक १७ गतेदेखि हुने भएको हो । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यवसायी प्रवद्र्धनमा गोदावरीको शान’ भन्ने मुल नारासहित कात्तिक २० गतेसम्म सञ्चालन हुने मेला पोखरा रंगशालाको पूर्व पट्टी रहेको चौरमा हुने जनाइएको छ । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको एशोसियसनले जनाएको छ ।
मेलामा गोदावरी फुलका विभिन्न प्रजातिसहित अन्य फुलहरु प्रदर्शनीमा राखिने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनका अनुसार मेलामा गोदावरी मूख्य आकर्षणको रुपमा रहनेछ भने तिहारे फूल (सयपत्री), सिजनल फूलहरु, सुनगाभा, विभिन्न वनस्पती, परम्परागत विरुवा, बोन्साईका विरुवा, कट्फ्लावरलगायतका फूलहरुको प्रर्दशनी रहनेछन् ।
मेलामा २४ वटा स्टल रहने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मेलामा व्यवसायीक २० वटा, कृषि सामग्रीका ३ वटा र सूचनामूलक एउटा स्टल रहनेछन् ।
मेलाको मूख्य उद्धेश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकर्षित गर्नु, स्वदेशी फूलको प्रयोगमा जोड दिनु र ब्यापार बढाउँदै बिदेश निर्यात गर्नसक्ने वातावरण बनाउनु रहेको एशोसियसनका निवर्तमान अध्यक्ष द्वाले स्पष्ट पारे । ‘पुष्प व्यवसाय गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने फुल विरुवाप्रति अभिरुची राख्ने वा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति मेला उपयोगी हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।
मेलाको करीब २० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको एशोसियसनका कास्की अध्यक्ष डिलबहादुर गुरुङले बताए ।
गण्डकी प्रदेशमा व्यवसायीक रुपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एशोसियसनले जनाएको छ । हामी पुष्प व्यवसायी अत्यन्त कम छौं, एशोसियसनका पूर्व अध्यक्ष द्वाले भने,‘तर फुल उत्पादन गर्ने किसान भने धेरै छन् ।’ उनका अनुसार किसानहरुले तिहारलाई लक्षित गरेर धेरै फुल उत्पादन गर्दछन् । फुल उत्पादनमा लागेका व्यवसायी र किसान दुबै सन्तुष्ट रहेको उनले बताए । पुष्प व्यवसायी भन्ने वित्तिकै मानिसहरु निधार खुम्च्याउँछन्,उनले भने,‘तर हामी पुष्प व्यवसायी खुशी छौं र हाम्रो जिविकोपार्जनपनि राम्रैसँग भएको छ । त्यसैले हामी सन्तुष्ट छौं ।’
गण्डकीमा स्थानिय फुलहरु नासहुँदै गएकोप्रति भने आफुहरु चिन्तित रहेको द्वाले बताए । ‘किसानहरु स्थानिय भएपनि स्थानिय फुल नासिदै गएको छ । छोटो समयमा र धेरै उत्पादन हुने भएकाले किसानहरु हाईब्रीड फुलतिर आकर्षित भएका छन् । त्यसैले स्थानिय फुलको संरक्षणमा सरकारको सहयोग आवश्यक छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







