अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटेरेस


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८० मा प्रकाशित




कार्तिक १४ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन् ।

आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताए ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । “नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ”, उनले भने ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्दै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

त्यस्तै जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्रसङ्घले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं । राष्ट्रसङ्घ सहयोग गर्न तयार छ”, गुटेरेसले भने ।

संयुक्त राष्ट्रसङ्घ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उनले सो अवसरमा उल्लेख गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।