कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरूलाई छ। दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरूको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरू चिन्तित बनेका छन्।
युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको जोगीहरूको भनाइ छ। आफूहरू बुढो हँुदै जानु र युवा पुस्ता (छोरा,नाति) मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताए।
उनले भने, “स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सीप अनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुदैन अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु। स्थानीय सरकारले हामीलाई पनि राति घरघर गई फेरी लगाउन आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराठको सिङ) उपलब्ध गराउन सके आमी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौं।”
परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिंडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताए।
यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उनको भनाइ थियो।
रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भने, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र हामीले पनि गरिरहेका छौं तर अब पढेलेखेका छोरा शहरमा जागिर खान जाने भएकाले उनीहरूले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ। न हामीलाई राज्यबाट सहयोग छ न त अरूबाट हामीलाई सहयोग नै छ। फेरी लगाएको दिन बिहानभरि घरघर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन्।” तर हाम्रो शेष पाछि भने हामिले लगाउने गरेको फेरी लोप होला जस्तो छ।
कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य उनीहरूले गर्दछन्।
विशेष गरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ। कसैकसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन्। उनीहरू रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन्।
सिदाका सबै सामानहरू सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरू घर लैजाने गर्दछन्।
जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिव एक सयको संख्यामा उनीहरूको बसोवास रहेको छ भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरूको बासोवास रहेको बताइएको छ। मन्थली र आसपासका क्षेत्रहरूमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरूले फेरी लगाउँदै आइरहेका छन्। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







