पोखरा, कात्तिक २२
जाजरकोट भुकम्प पीडितको सहयोगार्थ चीन सरकारले दुई कार्गो जहाज राहत सामग्री पठाएको छ । गत शुक्रबार विहान आएको भुकम्पबाट क्षेती पुगेको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भुकम्प प्रभावितहरुका लागि चीन सरकारले बुधबार दुई वटा कार्गो जहाजमा राहत सामग्री पठाएको हो ।
चीनिया जनमुक्ति सेनाको दुई वटा जहाजमा १ लाख ७९ हजार केजीको राहत सामग्री बोकेर पूर्वाह्न ९ः३० बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएको थियो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले चीनले नेपाललाई चिनिया १ लाख ५० हजार युआन बराबर नेपाली २८ करोड बराबरको राहत सामग्री प्रदान गरेको जानकारी दिए । राहत सामग्रीमा ४ हजार ६ सय थान ब्ल्याङ्केट र ६ सय थान टेन्ट रहेको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार चीनले पठाएको टेन्ट उच्च गुणस्तरको हो ।
चीन सरकारले पठाएको सो राहत सामग्री चीनिया राजदुत छन सोङले नेपाल सरकारका उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । हस्तान्तरण भएको सो राहत सामग्री बुधबार नै सशस्त्र प्रहरीको व्यवस्थापनमा ट्रकमार्फत भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पठाईएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए । व्ल्याङ्केट भुकम्प प्रभावित सर्वसाधारणलाई र टेन्ट कार्यालय प्रयोजनका लागि वितरण गरिने उनले बताए । ‘टेन्टको गुणस्तर राम्रो भएकाले प्रहरी, सेना, सशस्त्र प्रहरी, नगर, गाउँपालिका तथा वडा कार्यालय, स्वास्थ्य कार्यालयलगायतका कार्यालयहरु सञ्चालनका लागि प्रयोग गर्नेगरी वितरण गर्नेछौं’–उनले भने ।
गृहमन्त्री श्रेष्ठले चीनले अहिले दिएको राहत सामग्री यसअघिको प्रतिबद्धता वापतको नभएको बताए । यसअघि भुकम्प गएलगत्तै चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने घोषणा गरेको थियो । तर त्यो प्रतिबद्धता वापतको सहयोग अहिले आएको होईन,गृहमन्त्री श्रेष्ठले भने,‘पूर्व प्रतिबद्धता अनुरुपको राहत सहयोग चीनले केरुङ नाकाबाट पठाइसकेको छ । अहिले आएको राहत सामग्री चीनले थप राहत स्वरुप उपलब्ध गराएको हो ।’ उनले चीनीया सरकारले आगामी दिनमापनि आवश्यक्ता अनुसार सहयोग गर्ने वचन दिएको जानकारी गराए ।
गृहमन्त्री श्रेष्ठले चीनले सँधै नेपाललाई दुःखमा साथ दिने गरेको बताए । ‘चीनले सँधै सार्वभौम सत्ताको सम्मान र नेपालको हितलाई ध्यानमा राखेर संकटको बेलामा साथ दिदै आएको छ । यसका लागि म सरकारको तर्फबाट धन्यवाद भन्छु’–उनले भने ।
चीनीया राजदुत छन् सोङले चीन भुकम्पले दुःखाएको नेपालको साथमा रहेको बताए । भुकम्पले क्षेती पु¥याएको खबर पाएलगत्तै चिनीया राष्ट्रपती सी जिन पिङले नेपालका राष्ट्रपती र प्रधानमन्त्रीलाई सम्बोधन गरेर दुःख व्यक्त गरेको भन्दै उनले भने,‘चीन सदैब नेपालको सुख, दुःखमा साथमा छ । अहिले राहत उपलब्ध गराएरपनि हामीले नेपालमा साथमा छौं है भनेर भनेका मात्र हौं ।’ उनले आगामी दिनमापनि सहयोग जारी रहने बताए ।
यसअघि चीन सरकारले पठाएको राहत सामग्री ग्रहण गर्न नेपाली सेनाको हेलिकोप्टर चढेर उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र हस्तान्तरण गर्न सोहि हेलिकोप्टरमा चीनीया राजदुत छन् सोङ पोखरा आएका थिए । हस्तान्तरण पश्चात दुबै जना सोहि हेलिकोप्टर चढेर राजधानी फर्केका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







