पोखरामा फूलको थुंगाको मूल्य २ देखि ५ रुपैयाँ, मालाको २ सयसम्म


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८० मा प्रकाशित




पोखरामा लगाएको फूल टिप्दै एक महिला । फाईल तस्बिर

पोखरा, कात्तिक २५

यस वर्षको तिहारमा पोखरामा तीन करोड रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरासहित यस आसपासका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो । जसका लागि फुलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ । ‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं’–एशोसियसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने ।

पोखरामा खपत हुने फूल शत प्रतिशत स्थानिय उत्पादनले धान्छ । यसअघि पोखरालाई आवश्यक पर्ने फूलमध्ये ८० प्रतिशत फुल स्थानिय उत्पादनले धान्ने गरेको थियो । तर यस वर्ष उत्पादन बढेका कारण यहाँ आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने अध्यक्ष गुरुङले बताए ।

पोखरामा फुल उत्पादक किसान बढ्नुका साथै फूल लगाउने क्षेत्रफलपनि बढेका कारण यसपाली आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाले फूलको बेर्ना वितरण गरेका कारणपनि उत्पादन बढेको छ ।

पोखरामा यस वर्ष आयातित फूल भने प्रतिबन्ध लगाइएको छ । स्थानिय उत्पादनले नै धान्ने भएकाले पोखरा महानगरपालिकाले भारतबाट आयातित फूललाई प्रतिबन्ध लगाएको हो । भारतबाट आयातित तिहारे फूलसँगै प्लाष्टिकबाट बनेका फूलहरुपनि बेचबिखनमा प्रतिबन्ध लगाइएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

भारतबाट आयातित फुललाई प्रतिबन्ध लगाइएपनि स्वदेशका विभिन्न जिल्लाबाट आयात हुने फूल भने निर्वाध रुपमा आयात गर्न दिइनेछ । पोखरामा खपत हुने फूल धादिङ, गोरखा, लमजुङलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको छ ।

पोखरामा उत्पादन हुने गरेको फूलमध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यवसायीले उत्पादन गर्नेगरेका छन् । एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वाका अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड ५० लाख बढी बेच्ने गरेका छन् ।

पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाकोपनि दररेट तोकेको छ । दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य ४ रुपैयाँ र ५ देखी १० ग्रामको २ रुपैयाँ तोकिएको छ । मालाको मूल्य भने थुंगा अनुसार २ सय, १८० र १५० रुपैयाँ तोकिएको छ । यसैगरी, प्रतिकेजी ४०० रुपैयाँ सयपत्री फूलको मूल्य तोकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।