आजको मौसम यस्तो छ


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८० मा प्रकाशित




काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा छ । “भोलि सोमबार र कात्तिक २८ गते मङ्गलबार देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । पहाडी भूभागमा पातलो बादल लाग्ने सम्भावना रहेकाले एकरदुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ”, उनले भने ।

मौसमविद् लामिछानेले अबको केही दिन नयाँ मौसमी प्रणाली आउने सम्भावना नरहेकाले तिहारको समयमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान रहेको जानकारी दिए । उनले भने, “पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अलिअलि बादल आउने सम्भावना रहे पनि तिहारको समयमा त्यस्तो ठूलो मौसमी प्रभाव गर्ने देखिदैन ।”

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।