गण्डकी । पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा प्रदर्शित नाटक ‘मौन पक्षी: प्रकृतिको वरदान’ले पक्षीप्रेमी दर्शकको मन जित्यो । पोखरा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले अभिनयमार्फत सङ्टापन्न पक्षी गिद्ध संरक्षणको सन्देश दिए ।
पक्षी संरक्षण सङ्घ, पोखरा शाखाका संयोजक प्रवेश पाण्डेले महोत्सव अवधिभर तीनपटक नाटक प्रदर्शन गरिएको बताए । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको संरक्षणमा जुट्न समुदायलाई प्रेरित गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको उनको भनाइ छ ।
“गिद्ध संरक्षणमा चुनौती के–के हुन्, तिनको सामना गरेर कसरी गिद्धलाई जोगाउन सकिन्छ भन्ने नाटकको मुख्य विषयवस्तु रहेको छ”, संयोजक पाण्डेले भने, “नवलपुरमा हुने राष्ट्रिय चरा महोत्सवलगायत अरू मञ्चमा पनि नाटक प्रदर्शन गर्ने हाम्रो तयारी छ ।”
नाटकको कथा लेखन र निर्देशन आफैँले गरेको संयोजक पाण्डेले सुनाए । नाटकमा अभियन गर्ने कलाकार पक्षी संरक्षण सङ्घमा समेत आबद्ध छन् । उनीहरु चरा संरक्षणको अभियानमा क्रियाशील छन् । गिद्धका लागि उपयुक्त बासस्थान मानिने पोखरामा नेपालमा पाइने अधिकांश प्रजातिका गिद्ध पाइने संयोजक पाण्डेले बताए ।
“सन् १९९० को दशकमा लाखौँको सङ्ख्यामा रहेको गिद्ध बीचमा एकाएक लोप हुने अवस्थामा पुगेको थियो, सरकार र समुदायस्तरबाट संरक्षणको पहल भएपछि अहिले फेरि गिद्धको सङ्ख्या बिस्तारै बढ्दो क्रममा छ”, संयोजक पाण्डेले भने, “हानिकारक विषादी, विद्युतीय तारबाट जोगाउने र बासस्थानको सुरक्षा गर्न सकियो भने गिद्ध संरक्षणमा ठूलो टेवा पुग्छ ।”
घरपालुवा पशुचौपायाको उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक’ नामक औषधिका कारण व्यापक सङ्ख्यामा गिद्धहरु मरेको पाइएपछि सरकारले उक्त औषधिमा रोक लगाएको उनले उल्लेख गरे । “डाइक्लोफेनेक औषधि खुवाइएका पशुचौपायाको सिनो खाँदा गिद्धको मिर्गौलामा असर गर्ने अनुसन्धानबाट पुष्टि भएपछि उक्त औषधिको प्रयोगमै रोक लगाइको छ”, संयोजक पाण्डेले भने, “नाङ्गा विद्युतीय तारमा बस्दा पनि गिद्धहरु मरेको पाइएको छ, गिद्धको बासस्थान पनि खुम्चँदै गएको छ ।”
गिद्ध ठूला र अग्ला सिमलका रूखमा बस्न रुचाउने हुँदा त्यस्ता रूख मानिसबाट जोगाउनुपर्ने उनको भनाइ छ । विज्ञहरुका अनुसार पश्चिम नेपालको तराई र मध्यपहाडको वन गिद्धको उपयुक्त बासस्थान मानिन्छ । नेपालमा हाडफोर, सेतो डङ्गुर, सानो खैरो, खैरो, हिमाजी, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइने संयोजक पाण्डेले बताए ।
तीमध्ये डङ्गुर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली, हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा रहेको बताइन्छ । पोखरा वन विज्ञान संस्थानकी विद्यार्थी आयुषा बोगटीले पर्यावरण र पक्षी संरक्षण अभियानको सदस्य बन्न पाउँदा गौरव लागेको बताए ।
अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा गिद्ध संरक्षणको मुद्दालाई नाटकका माध्यमबाट समावेश गरिएको उनको भनाइ छ । “गिद्धलाई प्रकृतिको कचिकार पनि भनिन्छ, वातावरण प्रदूषण र दुर्गन्ध रोक्न पनि गिद्धको ठूलो भूमिका रहन्छ”, अभियानकर्मी बोगटीले भने, “सिनोबाट फैलिने पखाला, हैजा, आउँ जस्ता रोग नियन्त्रणमा पनि गिद्धले सहयोग पु¥याउँछ ।”रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





