मंसिर २७ काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् । उनले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए ।
“प्रमको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुआतको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी–ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने । उनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रम महिला होस् भन्ने चाहेको बताए । उनले भने, “अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।” प्रधानमन्त्री प्रचण्डले उक्त पार्कका लागि सरकारले आवश्यक कार्यविधि बनाई र आवश्यक बजेट विनियोजन गर्ने बताए । “पार्कका लागि बहुवर्षीय कार्यविधि बनाएर सफल बनाउने दायित्व सबैको भएकाले आउने बजेट नीति तथा कार्यक्रममा नयाँ ढङ्गले लैजाने छौँ”, उनले भने । उनले महिला उद्यमी हरित क्रान्तिको निम्ति मञ्चका पदाधिकारीले अग्रिम मोर्चा सम्हालेको उल्लेख गर्दै सरकार पन्ध्रौँ पञ्चवर्षीय योजनाको समीक्षा गर्ने र १६औँ योजनाको तयारीको प्रक्रियामा रहेकाले १६ औँ योजनामा महिला उद्यमी र हरित उद्योगलाई प्राथमिकता दिने गरी अगाडि बढाउने सोच बनाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले फरक प्रसङ्गमा सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर अघि बढिरहेको बताए । उनले भने, “सरकार यो पटक अर्थतन्त्रमाथिको दबाब कम गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपाल राष्ट्रको छवि र प्रतिष्ठा बढाउन, अन्तर्राष्ट्रिय सहयोग जुटाउन, देशभित्र सुशासन र सामाजिक न्याय कायम गर्नको निम्ति निरन्तर अगाडि बढिरहेको छ र बढ्छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







