प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए । सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए । उनले भने, “मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।”
यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताए । उनले भने, “हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तपाईहरूले दिएका सुझाव महत्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







