तस्बिर : उमेश पुन
पोखरा, पुस १२
पोखरा आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण सहर हो । तालै तालको सहर पोखरालाई कुमारी हिमाल माछापुच्छ«े र अन्नपूर्ण हिम श्रृंखलाले थप मन्त्रमुग्ध बनाएको छ । सुन्दर पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल प्रकृतिको अनुपम उपहार हो । यसको किनारमा रहेको लेकसाईड पर्यटक बस्ने प्रमुख थलो हो ।
यहि लेकसाईडको साढे तीन किलोमिटर क्षेत्रमा आजदेखि पाँच दिने पोखरा सडक महोत्सव आयोजना हुँदैछ । पोखराको सहीदचोकदेखि खहरेसम्मको क्षेत्रमा ‘सडकमै खाऔं, सडकमैं नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने महोत्सवका लागि लेकसाईडलाई दुलहीझैं सिंगारिएको छ । महोत्सव स्थल साढे तीन किलोमिटर क्षेत्रमै ध्वजापताका टाँगिएको छ भने सो क्षेत्रका सडकलाई सरसफाई गरेर कालो, सेतो र पहेंलो रंगले पोतिएको छ ।
महोत्सव स्थल वरपर वत्तीले झिलिमिली पारेर उज्यालो बनाइएको छ । साढे तीन किलोमिटर क्षेत्रमा नै विभिन्न रंगीविरंगी वत्तीले सडक झलमल्ल पारिएको हो । यसले पर्यटकलाई थप रौनकता प्रदान गर्ने अपेक्षा आयोजकको छ ।
महोत्सवको प्रमुख कार्यक्रम स्थल कोमागाने पार्कलाई सजाएर झकिझकाउ बनाइएको छ । जहाँ मुख्य मञ्च बनाइएको छ र यसलाई आकर्षक ढंगले सजाइएको छ । यहि ठाउँमा दिउँसो दोहोरी, अपराह्न पप तथा आधुनिक सांगीतिक प्रस्तुती र साँझमा दैनिक कन्सर्ट हुनेछन् । मञ्चको अग्रभागमा दर्शक बस्ने चौर छ भने त्यसको पूर्वतर्फ नेवार, गुरुङ, मगर, दुरालगायतका विभिन्न जातिको पहिचान झल्किने सांस्कृतिक तथा ऐतिहासिक घर, गोठ, पिङलगायत बनाएर आकर्षक बनाइएको छ ।
मुख्य कार्यक्रम स्थलबाहेक अम्बोट, गौरीघाट, हल्लनचोक र हल्लनचोकदेखि खहरे पुग्नुभन्दा अगाडिको क्षेत्रमा गरेर थप चार ठाउँमापनि मञ्च बनाइको छ । त्यहाँपनि सांस्कृतिक कार्यक्रमदेखि मिनी कन्सर्टसम्म हुने जनाइएको छ ।
दुलहीझैं सिंगार्ने क्रममा लेकसाईड प्रवेश क्षेत्रमा तीन वटा स्वागतद्वार निर्माण गरिएका छन् । लेकसाईड प्रवेश गर्ने पूर्वोत्तर क्षेत्रको जरेबर, दक्षिण पश्चिमी क्षेत्रको बुलौंदी र उत्तरी क्षेत्रको गैह्राकोचौतारामा आकर्षक स्वागतद्वार निर्माण गरिएको छ । त्यसबाहेक पोखरा प्रवेश नाकाहरु पूर्वको पोखरा विमानस्थल अगाडिको औद्योगिक क्षेत्र, दक्षिणको विरौटा र उत्तर पश्चिमको हरिचोकमा ठूला स्वागतद्वार निर्माण गरेर सजाइएको रेवान पोखराका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विश्वराज पौडेलले जानकारी दिए ।
महोत्सव स्थल क्षेत्रका हरेक होटल तथा रेष्टुरेण्टहरुलाईपनि सिंगारिएको छ । सञ्चालकहरु आफैले आ–आफ्ना होटल तथा रेष्टुरेण्टहरुमा रंगरोगन गर्नुका साथै साईनबोर्डपनि चम्काएर राखेका छन् । उनीहरुले आफ्नो होटल तथा रेष्टुरेण्ट वरपर सरसफाई गर्नेदेखि सजावटसम्म गरेर आकर्षक बनाएका छन् । त्यतिमात्र होईन उनीहरुले होटल तथा रेष्टुरेण्टको अग्रभागमा किचन निकालेर त्यहिं बस्ने, खाने र रमाउने वातावरण बनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







