राष्ट्रिय सभा निर्वाचन : गठबन्धनले गण्डकीका एघारै जिल्लामा मतदाता भेटघाट गर्ने


     एभरेस्ट आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित




पोखरा, पुस २९

सत्तारुढ गठबन्धनले गण्डकीमा मतदातासँग चुनावी भेटघाट गर्ने भएको छ । गठबन्धनले गण्डकीका ११ वटै जिल्लामा पुगेर राष्ट्रिय सभा सदस्यको चुनाव केन्द्रीत चुनावी भेटघाट र अन्र्तक्रिया गर्ने आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । राष्ट्रिय सभा सदस्यको रिक्त १९ सदस्यका लागि माघ ११ गते चुनाव हुँदैछ । गण्डकीमा ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

गठबन्धनका तर्फबाट गण्डकीमा अन्यतर्फ किरणबाबु श्रेष्ठ (गोर्खा), महिलातर्फ मनरुपा शर्मा सुवेदी (पर्वत) र अल्पसंख्यक तथा अपाङ्गतातर्फ पदमबहादुर परियार (तनहुँ) उम्मेदवार छन् । अन्य, महिला र अल्पसंख्यक तथा अपाङ्गता क्षेत्र गरेर ३ सदस्यका लागि हुने चुनावमा नेकपा एमालेले अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ) र महिलातर्फ सम्झना देवकोटा (गोरखा)लाई उम्मेदवार बनाएको छ । त्यस्तै, दुई स्थानमा मात्र उम्मेदवारी दिएको राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्यतर्फ रोमबहादुर भण्डारी (कास्की) र गौमाया श्रेष्ठ (तनहुँ)लाई उम्मेदवार बनाएका छन् ।

आफ्ना उम्मेदवारहरुलाई जिताउन गठबन्धनले माघ २ गते नवलपुरमा, ३ गते विहान गोरखा, सोहि दिन दिउँसो लमजुङ, ४ गते तनहुँ, ५ गते स्याङ्जा, ६ गते विहान म्याग्दी, सोहि दिन दिउँसो बागलुङ, ७ गते विहान पर्वत, सोहि दिन दिउँसो कास्की, ८ गते मनाङ र ९ गते मुस्ताङमा मतदाताहरुसँग भेटघाट कार्यक्रम तय गरेको नेपाली कांग्रेस गण्डकीका सभापती तथा गठबन्धनका गण्डकी संयोजक शुक्रराज शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका अन्य तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठले ईमानको राजनीति गर्दै आएको आफूलाई राष्ट्रको सेवा गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । ईमानको राजनीति गर्ने मेरो राजनीतिक जीवन नै खुल्ला कितावको पाना हो,उनले भने,‘जितेपछिपनि निष्ठा र ईमान छाडेर पद र कुर्सीका लागि दौडिन्न । राष्ट्र हितमा समर्पित हुन्छु ।’ उनले यसअघि चुनाव हारेकै आधारमा अयोग्यताको पगरी भिराउन नहुने बताए । पटकपटक चुनाव लडेर पराजित भएका श्रेष्ठले भने,‘जित र हार त केवल प्राविधिक कुरा हो । त्यसलाई योग्य र अयोग्यको कसीमा राखेर हेरिनु हुँदैन ।’

महिलातर्फकी उम्मेदवार मनरुपा शर्मा सुवेदीले आफ्नो ईतिहास हेरेर मतदाताले मत दिने विश्वास व्यक्त गरिन् । जनयुद्धमा श्रीमान गुमाएकी उनले भनिन्,‘देश र जनताका लागि लड्दालड्दै श्रीमान गुमाएँ, आफैपनि दश वर्षे जनयुद्धमा लडेर आएकी हुँ । मेरो योगदान हेरेरै पार्टीले उम्मेदवार बनाएको हो । अब मतदातालेपनि न्याय गर्नुहुन्छ भन्ने विश्वास छ ।’

अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार पदमबहादुर परियारले विभेदबिरुद्ध सशक्त आवाज उठाउनका लागि आफूलाई जिताउने विश्वास व्यक्त गरे । म आफैलेपनि बाधा, व्यवधान, विभेद भोगेँ र त्यसबिरुद्ध आवाज उठाउँदै आएँ,उनले भने,‘पार्टीले भुईंमान्छे उठाएर अहिले मलाई उम्मेदवार बनाएको छ । विश्वास छ मतदाताले मलाई जिताएर पठाउनुहुनेछ ।’ उनले आफूले जितेमा देशको कानून, नीति नियम समावेशी बनाउनका लागि आवाज बुलन्द गर्ने बताए ।

गण्डकीमा ६० जना प्रदेश सभा सदस्य, ८५ वटा स्थानिय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । गण्डकीमा गठबन्धनको भारी बहुमत पुग्छ । गण्डकीमा कुल ६ हजार ४ सय १० मतभार रहेकोमा सत्ता गठबन्धनसँग ३ हजार ८ सय २७ मतभार छ भने एमालेसँग २ हजार ४ सय ३९ र राप्रपासँग १०६ मतभार छ ।

गण्डकीमा ६० प्रदेश सभा सदस्य, १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेकाले गण्डकीमा ३ हजार १ सय ८०, स्थानिय तहको प्रमुख र उपप्रमुखको समान १९÷१९ मतभार रहेकाले ३ हजार २ सय ३० मतभार छ ।

कांग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादी केन्द्रको ९ सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ मतभार भएकाले सबै जोड्दा सत्ता गठबन्धनसँग पुग्छ । जुन जित्नका लागि आवश्यक मतभार भन्दा धेरै हो ।

नेकपा एमालेको २ मतभार छ । राप्रपाको भने दुई जना प्रदेश सभा सदस्य मात्र भएकाले केवल १ सय ६ मतभार छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।