पोखरा, माघ ३
भनिन्छ विपद बाजा बजाएर आउँदैन । अर्थात यो जुनसुकै दिन अनि जुनसुकै समय आउन सक्छ । विश्वमै नेपाल विपदको जोखिमयुक्त देशमध्येको एक हो । त्यसमापनि पश्चिम नेपाल जोखिम क्षेत्र मानिन्छ । प्राकृतिक र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरु स्वतः जोखिममा पर्ने नै भए । त्यसमापनि अपाङ्गता भएकाहरु सबैभन्दा बढी जोखिममा पर्ने गर्छन् ।
किनकी विपदमा सबलाङ्ग मानिस सुरक्षित स्थानसम्म पुग्न सक्छन् । उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन । तर अपाङ्गता भएकाहरुका लागि विपद कहालीलाग्दो हुन्छ । किनकी सँगै भएका सबलाङ्गहरु दौडिएर सुरक्षित स्थानमा जाँदा उनीहरु जान सक्दैनन् । यहाँ मानव निर्मित भवनहरु अपाङ्गतामैत्री छैनन् । बहुतले भवन छन् तर अपाङ्गतामैत्री नहुँदा उनीहरु विपदका बेला हतार गरेर सुरक्षित स्थानमा जान सक्दैनन् । उक्त बेला नत सँगै भएकाहरुले सुरक्षित स्थानमा लैजान प्रयत्न नै गर्छन् । किनकी विपदको बेला आफू सुरक्षित हुन सबैले खोज्नुपनि सामान्य नै हो ।
अपाङ्गता भएकाहरु बढी जोखिममा पर्नुमा यहाँ निर्मित संरचना दोषी रहेको सरोकारवालाहरु बताउँछन् । गण्डकी प्रदेश सरकार र आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरासँगको सहकार्यमा अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजनामा ‘समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी’ अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै पूर्ण दृष्टिविहीन् छबी आलेले भने,‘यहाँका सरकारी कार्यालयमा पुग्दा वा होटलमा बैठक बसेको बेलामा भुकम्प गयो भने हामी कसरी बाँच्ने ? ।’ उनी त्यतिमा रोकिएनन् र अगाडि भने, ‘तपाईंहरु त दौडेर सुरक्षित स्थानमा पुग्नु होला तर म कसरी निस्किन्छु ? ।’ उनले विपदका बेला बाहिर निस्किने आकस्मिक ढोकासमेत सरकारी कार्यालय वा होटल, अस्पतालमा नभएको भन्दै आक्रोस पोखे ।
शारिरिक अपाङ्गता भएका दण्डपाणी ढकालले अपाङ्गतामैत्री भवन निर्माण नहुँदा विपदका बेला आफूहरु थप जोखिममा परेको बताए । ‘संविधान र कानूनमा अपाङ्गता मैत्री भवन, भवन संहिता होलान् तर हामीलाई विपदका बेला तत्काल बाँच्नका लागि वातावरण छैन’–उनले भने ।
दुबै कान नसुन्ने पार्वती भुजेलले सूचना पहुँचयुक्त नहुँदा अपाङ्गता भएकाहरु जोखिमबाट बच्न समस्या परेको बताईन् । विपद सम्बन्धी सूचनाहरु सपाङ्गका लागि मात्र बनाईन्छन्,उनले भनिन्,‘हामी बहिराले कसरी थाहा पाउने ? ।’ सूचना सांकेतिक भाषामापनि निर्माण गरेर प्रशारण गर्नुपर्ने उनको भनाई थियो ।
शारिरिक अपाङ्गता भएका सुनिता पौडेलले खुड्किलो भएको सिंडीका कारण विपदमा आफूहरु सुरक्षित स्थानमा जानसक्ने अवस्था नरहेको बताईन् । ‘सिंडीमात्र हटाईदिए मात्रपनि हामी सुरक्षित हुन्थ्यौं’–उनले भनिन् ।
कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले विपदमा अन्य भन्दा अपाङ्गता भएकाहरु दुईदेखि चार गुणासम्म बढी जोखिममा पर्नेगरेको उल्लेख गरे । ‘किनकी यहाँका भौतिक संरचनाका कारण हामीले अवरोध सामना गर्नुपर्छ’–उनले भने । राज्यले अपाङ्गता भएकाहरुको तथ्याङ्क संकलन गर्ने, विपद सम्बन्धी सूचना जारी गर्ने, पहुँचयुक्त संरचना निर्माण गर्ने, भवन संहिता अनिवार्य लागु गर्नेलगायतका कार्य गर्नुपर्ने उनको भनाई छ ।
डिडा नेपालका अध्यक्ष दीपक तिमिल्सेनाले अपाङ्गता भएकाहरुको मानव अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको बताए । उनले भने,‘समावेशी जोखिम न्यूनिकरणका उपाय अवलम्वन गर्न राज्य जिम्मेवार हुनुपर्छ ।’
कार्यक्रम अवधीभर कुरा सुनेर बसेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब आईन्दा गण्डकीमा बन्ने सरकारी भवन अपाङ्गमैत्री बनाउने घोषणा गरे । संविधान र कानूनमा अपाङ्गता भएकाको अधिकार सुनिश्चित गरिएको तर यसको कार्यान्वयनमा राज्यसँगै नागरिकपनि लाग्नुपर्छ,उनले भने,‘अब आईन्दा अपाङ्गमैत्री नभएका भवन बन्दैनन् अर्थात अपाङ्गतामैत्री भवन मात्र बन्छन् ।’ उनले सरकारले नागरिकलाई भने अनिवार्य अपाङ्गमैत्री संरचना बनाउ भन्न नसक्ने बताए । ‘भवन कस्तो बनाउने भन्ने व्यक्तिको मौलिक अधिकार हो । उसको नीजि सम्पतीमा राज्यले यहि गर भन्न सक्दैन’–उनले भने ।
पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राज्यको नेतृत्वमा बसेकाहरुले अपाङ्गतामैत्री संविधान र कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘आफू अपाङ्ग व्यक्ति हुँ, मैले आफैलाई हेरेर संरचना बनाऔं’–उनले भने ।
कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक तथा अधिकारकर्मी बिना सिलवाल, डिडा नेपालका महासचिव गिरीधारी शर्मा, ईन्सेक गण्डकीका अध्यक्ष शिव खकुरेल, आईएनएफ नेपाल हरियो खर्क अस्पतालका आउटरिच म्यानेजर ताराहाङ तावा, डिडा नेपालका सल्लाहकार विष्णु बराल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले संविधान र कानून अपाङ्गमैत्री भएपनि कार्यान्वयन नहुँदा अपाङ्गता भएकाहरु विपदको जोखिममा पर्नेगरेको बताए । संविधान र कानून कार्यान्वयन गरेर अपाङ्गता भएकाहरुको बाँच्न पाउने अधिकार सुरक्षित गर्नुपर्ने उनीहरुको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







