प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच आज द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलङ्का एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएयो । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सो क्रममा श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलङ्काबीच सहकार्य आवश्यक रहेकामा जोड दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





