सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८० मा प्रकाशित




माघ २२ काठमाण्डौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपालको २६आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिए । उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताए ।

उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताए । उनले अहिले एमाले प्रतिपक्षमा रहेको बेला सदनमा मुलुकमा व्याप्त समस्याका बारेमा सशक्त ढङ्गले आवाज उठाउँदै आएको बताए ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनसङ्गठनभित्र दक्षिणपन्थी अवसरवाद हाबी भएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले लोकतन्त्र बलियो बनाउने सञ्चार क्षेत्र सङ्कटमा रहेको बताए । उनले सञ्चार क्षेत्रलाई राज्यले बेवास्ता गर्न नहुनेमा जोड दिए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहालले लोकतन्त्रको पहरेदारका रुपमा रहेको सञ्चारक्षेत्र आर्थिक अभावका कारण खुम्चिँदै गएको बताए ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले लोकतन्त्रका निम्ति योगदान गरेका सञ्चारमाध्यम यतिबेला सङ्कटमा परेकाले सरकारले सहयोग गर्नुपर्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।