फाइल तस्विर
पोखरा, माघ २२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवी लामिछाने र उनी संलग्न ज्ञालेक्सी फोरके टेलिभिजनसहित १८ जना व्यक्ति तथा संस्थाबिरुद्ध सहकारी ठगी मुद्धामा जाहेरी परेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट पैसा लगेर तिरेको नदेखिएको भन्दै पीडितहरुले सोमबार लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित १८ जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् । यसअघि तीन पटक उजुरी हाल्न गएका पीडितहरुलाई प्रहरीले विवरण नपुगेको भन्दै फर्काएका थिए । सोमबार चौथो पटक विवरण जुटाएर गएपछि मात्रै प्रहरीले जाहेरी लिएको जाहेरीकर्ता मध्येका एक किरण श्रेष्ठले जानकारी दिए । प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन । जाहेरीमा संलग्नहरुकाबारेमा अनुसन्धान गरेपछि एक÷दुई दिनमा उजुरीलाई औपचारिक दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले वचन दिएको श्रेष्ठको भनाई छ । ‘उजुरी लिनुभयो तर अनुसन्धानपछि थप प्रमाण जुटाएपछि मात्रै औपचारिक रुपमा जाहेरी दर्ता गर्छौं भन्नु भएको छ । हामीलाई विश्वास छ एक÷दुई दिनमा जाहेरी दर्ता हुनेछ’(उनले भने । लामिछाने पूर्व गृहमन्त्रीसमेत भएकाले प्रहरीले जाहेरी लिन आनाकानी गरेको भएपनि आवश्यक प्रमाण जुटाएर दिएकाले जाहेरी अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढ्ने उनको आशा छ ।
सहकारीका बचतकर्ताहरुले रास्वपा सभापती लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणी बास्तोलालगायतका व्यक्तिहरुबिरुद्ध जाहेरी दिएका हुन् । सहकारी ठगी आरोपमा जाहेरीमा परेका दीपेश पुन पूर्व उप(राष्ट्रपती नन्दकिशोर पुनका छोरा हुन् । त्यस्तै, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, ग्यालेक्सी टेलिभिजन, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल प्रालि, ग्रिजी स्पान रेष्टुरेण्ट काठमाडौं, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिबिरुद्धपनि पीडितहरुले जाहेरी दिएका छन् ।
त्यस्तै, पीडितहरुले ठगीमा संलग्न व्यक्तिहरु निकटका सहकारीविरुद्ध पनि जाहेरी हालेका छन् । पीडितहरुले सानो पाइला सहकारी विराटनगर, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी बुटवल, सहारा सहकारी चितवन र समानता सहकारी नेपालगञ्जबिरुद्धपनि जाहेरी दिएका छन् । यी व्यक्ति तथा सहकारी र संस्थाहरुले सूर्यदर्शन सहकारीको रकम लगेर फिर्ता नगरेको जाहेरीमा उल्लेख छ ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले पीडितहरुले लामिछानेसहित १८ जनाबिरुद्ध उजुरी परेको बताए । उनले भने,‘पीडितहरुले जाहेरी बुझाउनु भएको छ । जाहेरी परेलगत्तै अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको छ ।’ सोमबारको जाहेरी पुरक जाहेरी भएको उनको भनाई छ । पहिलेकै जाहेरीसँग जोडेर अनुसन्धान अगाडि बढाउने एसपी थापाले बताए ।
जाहेरीकर्ता मध्येका एक किरण श्रेष्ठले पैसा लगेको तर फिर्ता नदेखिएका कारण जाहेरी दिएको बताए । ‘छानविन समितिको प्रतिवेदन अनुसार मनपरी रुपमा पैसा दिएको र सो पैसा फिर्ता भएको नदेखिएकाले ती सबै व्यक्ति, संस्था र सहकारीबिरुद्ध जाहेरी दिएका छौं’(उनले भने ।
यसअघि पीडितहरुले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राईसहित १९ जनाबिरुद्ध जाहेरी दिएका थिए । त्यसमध्ये प्रहरीले उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्ताल, सदस्य शिवकुमार गुरुङ (महेन्द्र भोटे) र सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई पक्राउ गरेर अदालतमा पेश गरेका थियो । अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







